
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित विरामीलाई प्रतिष्ठानमा पठाउनु अगाडी प्रतिष्ठानसँग समन्वय गर्न अनुरोध गरेको छ ।
विज्ञप्तिमा कतिपय ठाउँबाट समन्वयकर्तासँग सम्पर्क नै नगरी संक्रमितलाई सोझै अस्पताल पठाइदिँदा बिरामीलाई राख्ने शैयाको अभावमा घण्टौंसम्म बिरामी कुर्न पर्ने अवस्था सिर्जना भएको जनाइएको छ ।
विभिन्न जिल्ला, क्षेत्रहरुमा रहेका क्वारेन्टाइन, होल्डिङ सेन्टर तथा अस्पतालहरुबाट कोरोना पोजेटिभलाई समन्वय नगरीकन प्रतिष्ठानमा रेफर गर्दा समस्या भएको बताउँदै प्रतिष्ठानले समन्वय गर्न अनुरोध गरेको हो ।
प्रतिष्ठानसँग शैया अभावका कारण यसरी समन्वय नगरी आएकालाई राख्न समस्या भएको प्रतिष्ठानले जनाएको हो । ‘कतिपय ठाउँबाट हाम्रो समन्वयकर्तासँग सम्पर्क नगरी संक्रमितलाई सिधै अस्पताल पठाईदिने र अस्पतालमा उहाँहरुलाई राख्ने शैया खाली नहुँदा संक्रमितले घन्टौं कुर्नुपर्ने हुन जान्छ ।’ प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार हालसम्म प्रतिष्ठानमा ३६६ जनाभन्दा बढी संक्रमितलाई र ५६ जना शंकास्पद संक्रमित व्यक्तिलाई सेवा प्रदान गरिसकिएको छ । तीमध्ये २८३ जना अस्पतालबाट डिस्चार्ज भइसकेको उनले जनाए । प्रतिष्ठानमा हालसम्म १० जना बिरामीलाई मात्र आइसीयुमा राख्नु परेको जनाइएको छ ।
हाल प्रतिष्ठानमा ७० वटा आइसोलेसन बेड रहेको छ । प्रतिष्ठानमा ८१ जना संक्रमितको उपचार भइरहेको छ । जहाँ कोभिडका लक्षण नदेखिएका तर कोभिड पोजेटिभ देखिएकालाई मात्र राख्ने गरीन्छ ।
