
पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ वर्षीय एक पुरूषको मृत्यु भएको हो।
प्रतिष्ठानद्वारा आइतबार जारी विज्ञप्तिमा संक्रमित ती पुरूषको शनिबार राति ११:३५ बजे ज्यान उएको हो।
प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो ।
प्रतिष्ठानले मृतक डायाबिटिजबाटसमेत पीडित रहेको जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो ।
योसँगै कोरोनाका कारण नेपालमा हुने मृत्यु हुनेको संख्या ७४ पुगेको छ।
‘ट्राभल हिष्ट्री’ छैन पोखराका मृतकको, सुगर बढेपछि आफैं गएका थिए अस्पताल
साउन १६ गते रुघाखोकी लागेपछि पोखरा–१९ घर भएका उनी सुरुमा ओम अस्पताल पुगेका थिए । उपचारकै क्रममा उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे र त्यहाँबाट फेरि उनी ओम अस्पतालमै फर्किएका थिए ।
त्यही बीचमा कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षणका लागि पठाइयो । साउन १७ गते उनमा कोरोना पुष्टि भयो । स्वाब परीक्षणका लागि दिएर उनी घरसमेत पुगेका थिए । उनले आफन्तलाई समेत भेटेका थिए ।
‘उनमा सुगरको समस्या थियो । त्यसमाथि कोभिडले ग्रस्त पारिसकेको थियो,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले भने, ‘उनी आउँदा नै कमजोर भइसकेका थिए । रुघाखोकीले समेत ग्रस्त थिए ।’
संक्रमणको स्रोत पत्ता लागेन
उनको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु पोखरा स्वास्थ्य प्रतिष्ठानको आइसोलेसनमा छन् ।
संक्रमित मृतकको कोरोनाको स्रोत भने पत्ता लाग्न सकेको छैन । ‘उनको वाह्य ट्राभल हिस्ट्री थिएन । विरामी भएर अस्पताल पुगेपछि स्वाब परीक्षणमा कोरोना भेटिएको हो,’ पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्द्र पौडेलले भने ।
आइतबार मृत्यु भएका ६२ वर्षीय पुरुष घरमा एक्लै थिए । उनको परिवार हङकङ बस्दै आएको पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचाररत ६२ वर्षीय पुरुषको ज्यान गएको खबर पायौं । अब उनको आफन्तको खोजी र परिवारमा सम्पर्क गर्दैछौं,’ वडाध्यक्ष पौडेलले भने, ‘उनको अन्त्येष्टिका लागि पोखरा महानगर, नेपाली सेना, प्रदेश स्वास्थ्य निर्देशनालयलगायतले छलफल गर्दैछन् ।’
शव व्यवस्थापनको तयारी
उनको पोखरा–३२ मा शव व्यवस्थापनको तयारी भइरहेको छ । उपचारका क्रममा ज्यान गएर असार ११ गते शव व्यवस्थापन गरिएकै ठाउँमा आज पनि व्यवस्थापन गरिने भएको छ ।
‘पोखरा–३२ को यसअघिकै ठाउँमा शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ । सबैले आ–आफ्नो तयारी थालिसेकेका छन्,’ कास्कीका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० ज्ञानप्रसाद ढकालले भने ।
पोखरा–३२ मा असार ११ गते पोखरामा कोरोना संक्रमणबाट ज्यान गएका दोस्रो व्यक्तिको शव व्यवस्थापनको क्रममा स्थानीयले अवरोध गरेका थिए ।
शव व्यवस्थापनका लागि लैजाँदै गर्दा स्थानीयले अवरोध गरेपछि प्रहरीबीच झडप नै भएको थियो । झडपमा एक जना प्रहरीसहित केही स्थानीय घाइते भएका थिए ।
जेठ २५ गते कोरोनाका कारण मृत्यु भएका स्याङजाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीयले विरोध गरेका थिए । पोखरा ११ र २० को सिमानामा शव व्यवस्थापन गर्न लागिएपछि स्थानीयले अवरोध गरेका थिए ।
बस्ती नजिक भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत शव व्यवस्थापन गर्न लागिएको भन्दै जनप्रतिनिधिसमेत विरोधमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यो बेला पनि झडप हुँदा वडाध्यक्षसहित केही प्रहरीसमेत घाइते भएका थिए ।
पोखरामा कोरोना संक्रमणका कारण ३ जनाको ज्यान गएको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।
