
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरुले शीर्षनेताहरुको विवादले पार्टी विभाजनको डिलमा पुगेको भन्दै कुनै पनि पक्षमा नलाग्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
नेकपाका ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सांसदहरुले अबदेखि कुनै पनि गुटको पक्ष र विपक्षमा अभिव्यक्तिसमेत नदिने लिखित प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यस्तो प्रतिवद्धता सार्वजनिक गर्नेहरुमा केपी ओली र प्रचण्ड-माधव दुवै गुटका सांसदहरु छन् ।
आइतबारसम्म ६१ जनाले हस्ताक्षर गरेको प्रतिवद्धतापत्रमा भनिएको छ- पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधहरुलाई मूर्त वा अमूर्त ढंगले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरुबाट सार्वज्निक ढंगले पक्ष-विपक्षमा अभिव्यक्ति दिने वा सहभागी हुने छैनौं ।
तीनबुँदे प्रतिवद्धतापत्रमा पार्टीमा देखिने सबै प्रकारका अन्तरविरोधहरुलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्दतिअनुसार हल गरिनुपर्ने उल्लेख छ । उनीहरुले पार्टीको एकता महाधिवेशनसम्म विधान र एकताको भावना समेटिने गरी सामूहिक पहलकदमी हुनुपर्ने जनाएका छन् ।
पार्टी एकीकरणको प्रक्रियालाई पूर्णता दिई देशब्यापी संगठन विस्तार गर्दै महाधिवेशनमा लाग्नुपर्ने बेला पार्टीमा अनावश्यक विवाद सिर्जना गरिएको उनीहरुले बताएका छन् ।
केपी ओली पक्षका कृष्णप्रसाद दाहालको अध्यक्षता र प्रचण्ड पक्षका सुरेशकमार राईको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा तीनै गुटका सांसदहरुले बोलेका थिए ।

सांसद विशाल भट्टराईले पदीय महत्वकांक्षा छाडेर देशको वृहत्तर हितमा काम गर्न सुझाए । उनले भने “न यो सैधान्तिक लडाँई हो, न दार्शनिक लडाँई, यो प्रष्ट पदको लडाँई हो । यस्तो महामारीका बिचमा जनातालाई गरेको वाचा भुलेर यस्ता गतिविधिमा लाग्यौ भने हाम्रो प्रणाली माथी नै प्रश्न उठ्छ ।”

पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’
दुवै गुटको पक्षविपक्षमा नलाग्ने प्रतिवद्धता जनाइएको पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, विशाल भट्टराई, जीवनराम श्रेष्ठ, गणेश पहाडी, अञ्जना विशंखे, राजबहादुर बुढा, नारदमुनि रानालगायतले पार्टी विभाजन हुन नदिन अब कुनै पनि गुटको पक्ष-विपक्षमा विभाजित नहुने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रमको सुरूमा बोल्दै सांसद रामकुमारी झाँक्रीले अहिले शीर्ष नेताहरूका गतिविधि हेर्दा नयाँ पुस्ताले सुदृढ पार्टी नपाउने शंका बढेको बताइन्।
‘अहिले नेताहरूको जस्ता गतिविधि गरिरहनु भएको छ, त्यसले उहाँहरू हामीलाई सुदृढ पार्टी दिनुहुन्छ कि खरानीमात्र बुझाउनु हुन्छ भन्ने शंका बढेको छ,’ सांसद झाँक्रीले भनिन्,‘तपाईंहरू एक अर्कामा विरोध गर्नुभन्दा पुस्ता हस्तान्तरण तिर लाग्नुस्।’
उनले पार्टीको विवाद समाधान गर्न बैठक र छलफल गर्नुपर्ने बताइन्।

‘हामी पार्टी एकताका पक्षमा छौं। सानो पार्टी चोइटाएर लान्छु भन्ने कसैले कल्पना नगर्नुस् सानो पाटी चलाउन गाह्रो छ,’ झाँक्रीले भनिन्।
‘अहिले पार्टीमा देखिएको अन्तरविरोधले अन्यौल बढेको छ भने पार्टी विग्रहमा जाने खतरा बढेको छ,’ हस्ताक्षरकर्ताहरूका तर्फबाट बोल्दै सांसद सुरेशकुमार राईले भने,‘ शीर्ष तहमा देखिएको अन्तरविरोधलाई सहयोग गर्न सकिन्न। हामी एकताको महाधिवेशनसम्म सामूहिक पहलमा एकतावद्ध रहन्छौं। पार्टी विवादमा हुने मिडियावाजी, भेला कहिँ पनि सहभागी हुँदैनौं।’
सिंगो नेपाली समाजको रुपान्तरण, राष्ट्रिय एकता, सबल अर्थतन्त्रको निर्माणर वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइलाहरु अगाडि बढ्नु पर्ने उनीहरूको ठहर छ। यस्तै सहिद र लाखौँलाख कार्यकर्ताको त्याग तथा समपर्णलाई हेक्का नराखी पार्टीको नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य उदेश्य संगठनात्मक संरचना सम्बन्धी बहसभन्दा शीर्ष नेतृत्वतहमा देखा परेको अन्तरविरोधमा साथ नदिने ती सांसदहरुले चेतावनी दिएका छन्।
कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो । उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् ।
‘पार्टी फुटाउनुभएन । एकताबद्ध भएर जानुपर्यो । सुदृढीकरण गर्दै जानुप्रयो । काम कुरो कुम्लो ठिमीतिर हुनुभएन’, सांसद यज्ञराज सुनुवारले भने, ‘पार्टी फुट्ने हल्लाले हामी सवैलाई चिन्तित तुल्यायो । नेताहरुका गतिविधि हेर्दा कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै भयो यस्तो गर्नुभएन भन्ने हाम्रो भनाइ हो ।’
यसअघि पार्टी केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न नहुने भन्दै केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका थिए। त्यसको लगतै केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाएका थिए।
यी हुन् पार्टी फुट्न नदिने भन्दै हस्ताक्षर गर्ने ६१ सांसद्ः
