
चिसाङ शेर्पा, खोटाङ – जिल्ला विपद व्यवस्थापन समितिले नगरपालिकामा २० र गाउँपालिकामा १० बेडको आइसोलेसन वार्ड बनाउन स्थानीय तहलाई अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि दुई नगरपालिका र आठ गाउँपालिकालाई अनुरोध गरेको हो ।
आईतबार जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले कोरोना महामारी यथावत रहेकाले नगरपालिकाले २० बेड र गाउँपालिकाले १० बेडको आइसोलेसन वार्ड अनिवार्य बनाउन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकले जिल्लामा विपद्को कारणले मृत्यु भएका ब्यक्तिको शव ओसारपसार गर्न शव वाहन व्यवस्थापनको लागि स्वास्थ्य कार्यालय खोटाङमार्फत प्रदेश तथा संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण स्थानीय तह, सुरक्षा निकाय, रेडक्रसलगायत विपद् जोखिम न्युनिकरणसँग सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन पनि पत्रचार गर्ने, विपद पिडित उद्धार र राहत सम्बन्धी सातौं संशोधन मापदण्ड २०७७ को २ (ख) बमोजिमको राहत सम्बन्धी पालिकाले क्षति यकिन गरी सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिबाट व्यवस्थापन गर्ने र रावाबेंशी गाउँपालिकामा १८ साउनमा भिषण वर्षाबाट भएको क्षतिको यकिन विवरण माग गरी राहतको लागि प्रदेश तथा संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै, कोपिलासगढी गाउँपालिका–१ फेदीमा चट्याङ लागेर मृत्यु भएका निर्मला कामी, सोही स्थानमा चट्याङ लागेर मृत्यु भएका राजमणी राई र खोलाले बगाएर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका अम्विका रोकाको नजिकको हकवालालाई जनही एक-एक लाख राहत दिने निर्णय गरेको छ ।
यसैगरी, बैठकले २०७६ जेठ २९ बाट ०७७ को मसान्तसम्म विभिन्न दैवी प्रकोप पिडित २५ जनालाई प्रदान गरिएको दुई लाख २६ हजार रुपैयाँ अनुमोदन गरेको छ ।