
नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ ।
नेपालको राष्ट्रिय फुटबल टिमबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका इन्द्रसिंह सुब्बाको मंगलबार विहान ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको हो।
मुटुमा समस्या देखिएपछि उहाँलाई गङ्गालालमा भर्ना गरिएको थियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले विभिन्न रोगले च्यापेपछि सुब्बालाई एक महिना अघि ललितपुरको अल्का अस्पताल भर्ना गरिएको बताउनुभयो । पछि मुटुमा समस्या देखिएपछि उहाँलाई गङ्गालाल भर्ना गरिएको हो ।

सन् १९६३ मा नेपालको राष्ट्रिय फुटबल टिम पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आगाँ खाँ गोल्डकप खेल्न पूर्वी पाकिस्तान (हालको बंगलादेश) जाँदा सुब्बा नेपाली टिमका सदस्य हुनुहुन्थ्यो।
नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाँ खाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा हुनुहुन्थ्यो । नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही नै पहिलो थियो । नेपाली टोलीको कप्तान त्यो बेला नर शमशेर राणा हुनुहुन्थ्यो ।
सुब्बा भारतको दार्जिलीङमा जन्मिनुभएको थियो । पछि फुटबल खेल्न नेपाल आउनुभएको हो । उहाँ बाँचुञ्जेलसम्म काठमाडौँमैँ बस्नुभयो ।
नर शमशेर राणाको नेतृत्वमा गएको नेपाली टोलीमा १८ खेलाडी र ३ व्यवस्थापक समावेश थिए। तर, टिममा प्रशिक्षक थिएनन् किनभने त्यतिबेलासम्म नेपालमा प्रशिक्षकबिना नै फुटबल खेल्ने गरिन्थ्यो।
नेपाली टिममा गजेन्द्र बस्नेत, अफताब उद्दिन, जनकशमशेर थापा, ज्ञान धाख्वा, आरबी राजा, बी बिष्ट, नरशमशेर राणा, विजयकुमार श्रेष्ठ, प्रकाशविक्रम शाह, प्रभुधन सुब्बा, बाबा गुरुङ, अमर थापा, बीआर थापा, पदम श्रेष्ठ, कोमल पाण्डे, विष्णु बराल, इन्द्रसिंह सुब्बा, लक्ष्मणविक्रम शाह, शालिग्राम अधिकारी र ज्ञानबहादुर श्रेष्ठ थिए।
नेपाली टोली काठमाडौंमा २ दिनको सामान्य अभ्यास गरेर ढाका उडेको थियो। प्रतियोगिताका लागि पूर्वाञ्चल (विराटनगर र धरान) बाट ६ तथा बाँकी काठमाडौंबाट गरी खेलाडी छानिएका थिए।

ढाका वन्डरर्स विरुद्धको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाल ६–० ले पराजित भएको थियो। नेपालले दोस्रो खेल वेस्टर्न रेल्वे (पाकिस्तान) विरुद्ध खेल्यो। नेपाल त्यो खेलमा पनि ७–० ले पराजित भयो।
ढाका पुलिस विरुद्धको तेस्रो तथा अन्तिम खेलमा भने नेपाल विजयी भयो। नेपालको तर्फबाट प्रकाशविक्रम शाहले विजयी गोल गरेको सो खेल नै नेपालको पहिलो अन्तर्राष्ट्रिय जित हो।
उनको निधनको पुष्टि गर्दै अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले श्रद्धान्जली व्यक्त गरेका छन्।