
एक विज्ञप्ती जारी गर्दै प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । टेलिभिजनबाट २०७७ असार ३१ गते पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्रीमा प्रयोग भएका शब्दहरुको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेको तर्फबाट साउन २ गते दर्ता भएको उजुरी र उक्त उजुरीको आधारमा प्रसारित सामाग्री अनुगमन गर्दा तथ्यगत पुष्टि बेगर एकोहोरो, अशिष्ट एवम् अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकूल असर पर्ने गरी सम्प्रेषित उक्त सामाग्री पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) प्रतिकूल सामाग्री के, कसरी सम्प्रेषण हुन गएको हो ? भनी स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै फेरि उजुरीकर्ताले लिखित प्रतिक्रिया पेश गरेका थिए ।
काउन्सिलले उक्त सामाग्रीको सन्दर्भमा क्षमायाचना सन्देश प्रशारण गर्न भनिएकोमा समेत टेलिभिजन मार्फत प्रशारण नगरी नक्कली फुटेज एडिट गरी उपलब्ध गराएको भन्दै काउन्सिललाई समेत झुठा विवरण पेस गरेको भएकाले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०६७ ) को दफा ७ (१) (ज) बमोजिम कालोसूचीमा राखी थप कारवाही अगाडी बढाइने काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
