
सिन्धुपाल्चोक पहिरोमा परी ३८ जना वेपत्ता भएका छन्। हालसम्म कसैको पनि शव निकाल्ने काम भएको छैन। यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् । घाइते भएकालाई हेलिकोप्टरबाट उद्दार गरी चौतारा पुर्याइएको छ।
जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।
कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ ।
त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए।
आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको उनले जानकारी दिए।
पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो।


















तस्विर साैजन्य : श्रीधर न्याैपाने