
तस्बिर:रोशन सापकोटा-रासस
न्यूरोड क्षेत्रका व्यापारीमा कोरोना संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
हाल विशालबजारदेखि इन्द्रचोकसम्म र न्युरोडका केही पसलहरू समेत बन्द गरिएका छन्। शुक्रबार महानगरपालिकाले कीटनाशक औषधि समेत छर्किएको छ।

संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ले सूचना जारी गर्दै शुक्रबारदेखि भदौ ७ सम्मका लागि पसलहरू बन्द गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा ‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ’ भनिएको छ ।