
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको लागि आगामी भदौ १ गतेदेखि १५ गतेसम्म पाँचौं तहको उद्धार उडान सुरू हुने भएको छ।
अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन सीसीएमसीले पाँचौपटक थप ४३ वटा उडानलाई अनुमति दिएको छ ।
नेपालका दुई नेपाल वायु सेवा प्रदायक (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित तथा विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन्। सिसिएमसी स्रोतका अनुसार यी उद्धार उडान भदौ १ गतेदेखि सुरु भएर १५ गतेसम्म सञ्चालन हुनेछन्।
सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडान भदौ १ गतेदेखि सुरु भएर १५ गतेसम्म सञ्चालन हुनेछन् । अब हुने उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउने छन्। भदौ १५ पछि सरकारले नियमित उडान सुचारु गर्ने जनाइसकेको छ ।
नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका तय भएको छ।
शुक्रबार सार्वजनिक गरिएको यो तालिकामा सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलायन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । त्यस्तै युरोप र अमेरिकामा अलपत्र परेका नेपालीहरुका लागि टर्किस एयरलाई अनुमति दिइएको छ ।
यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको छ ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ।
सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ।
अनुमति दिइएका गन्तव्यमा दुबईका लागि ८ वटा उडान, दोहाका लागि ७, क्लालालम्पुर ६, जेद्दा १, कुबेत ३, दमाम ५, रियाद २, जापान १, आबुधाबी ५, कोरिया १, सारजाहा २, अष्ट्रेलिया १ गरी ४३ वटा उडान रहेका छन् । यी उडानबाट करिब ७ हजार नेपाली स्वदेश फर्किने छन् ।
अहिलेसम्म सरकारले जेठ २९ देखि साउन २९ गतेसम्म ३० वटा मुलुक र ती मुलुक हुँदै भएका ३ सय २३ वटा चार्टर उडानबाट ५० हजार ६ सय ६२ नेपाली स्वदेश फर्किसकेका छन्।
यो तालिकाले यी मुलुकबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहाने नेपालीलाई पनि खुला गरेको छ । ‘अहिले कतिपय मुलुकमा नियमित उडान भइसकेकाले तोकिएका गन्तव्यसम्म नियमित उडानबाट नेपाल आउन खुला गरेका छौं’, ती अधिकारीले भने ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार शुक्रबार मात्रै नेपाल एयरलाइन्सले जापानको नारिताबाट २५४ यात्रु तथा पाँच बच्चा नेपाल ल्याएको छ।
यी उडानको टिकट बिक्री तोकिएका वायुसेवाले मात्रै गर्नुपर्ने छ।
स्वदेश फर्किन चाहने नेपालीले पिसिआर वा आरडिटी परीक्षण गराएको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि उनीहरुले नेपाल सरकारले बनाएको स्वास्थ्य प्रोटोकल पालना अनिवार्य गर्नुपर्ने छ।
सरकारले भदौ १५ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान रोकेकाले त्यस दिनसम्म लागू हुने गरी नयाँ तालिका जारी गरिएको हो ।
सीसीएमसीका रहेका एक सहसचिवका अनुसार विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरुमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहेका छन् ।
सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । विदेशमा अलपत्र नेपालीलाई जेठ २९ गतेदेखि स्वदेश फर्काउन सुरु गरेको थियो । त्यसयता बिहीबारसम्म ३० वटा मुलुक र ती मुलुक हुँदै भएका ३ सय २३ वटा चार्टर उडानबाट ५० हजार ६ सय ६२ नेपाली स्वदेश फर्किसकेका छन् ।