
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन भएको छ। रोबर्ट ट्रम्पको मृत्यु बारे ह्वाइट हाउसले आइतवार बिहान जानकारी दिइएको हो। बीबीसीका अनुसार उनको मृत्युको कारण भने खुलाइएको छैन।
७१ वर्षीय रोबर्टको न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको ट्रम्पले जानकारी दिएका छन्।
‘आज राति मेरा भाइ रोबर्ट बितेको खबर भारी मनले सार्वजनिक गर्दैछु। उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी थिए। हामी उनलाई धेरै सम्झनेछौं, हामी फेरि भेट्ने छौं। उनको सम्झना मेरो मनमा सधैँ रहिरहनेछ। रोबर्ट, म तिमीलाई माया गर्छु। तिम्रो आत्माले शान्ति पाओस्,’ राष्ट्रपति ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।
ट्रम्प भाइलाई भेट्न शनिवार न्यूयोर्कस्थित एक अस्पतालमा पुगेका थिए। त्यहाँबाट निस्किए पछि ट्रम्पले पत्रकारहरूसँग भनेका थिए : ‘उ निकै अप्ठ्यारो परिस्थितिसँग जुँध्दैछ।’
रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो। केही समय उपचार गरेपछि उनलाई निको भएको थियो।
रोबर्ट ट्रम्प डोनाल्ड ट्रम्पको घर जग्गा लगानीहरूको व्यवस्थापन गर्थे।
न्यूयोर्क पोस्टका अनुसार, रोबर्टले जुनमा म्यानहट्टनस्थित माउन्ट सिनाई अस्पतालको विशेष वार्डमा उपचार गराएका थिए।
रोबर्ट ७४ वर्षीय दाजु डोनाल्डका एकदमै नजिक थिए। पछिल्लो समय उनले ट्रम्प परिवारबारे भतिजी म्यारीले प्रकाशन गर्न लागेको किताब रोक्नुपर्ने भन्दै मुद्दा हालेका थिए।
ट्रम्पका तीन दाजुभाइमध्ये जेठा दाजुको ४३ वर्षको उमेरमा सन् १९८१ मा मृत्यु भएको थियो। अत्याधिक मदिरा सेवन गर्ने दाजुको अल्पायूमै मृत्यु भएपछि त्यसले ट्रम्पको जीवनमा गम्भीर प्रभाव पारेको थियो।
रक्सीका कारण दाजुको ज्यान गएको देखेपछि आफूले कहिल्यै रक्सी नखाएको ट्रम्पले बताउँछन्।