
जिल्ला प्रशासन कार्यालय रामेछापले निरन्तर बढी रहेको कोभिड-१९ संक्रमण र त्यसबाट हुनजाने उच्च जोखिम मध्यनजर राख्दै आजबाट निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित आदेशमा कोरोनाको रोकथाम तथा नियन्त्रण प्रभावकारी बनाउन बिहीबार राति १२:०० बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
के गर्न पाइने, के नपाइने ?
उक्त आदेश अनुरुप अत्यावश्यक सेवा (औषधी, खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विधुत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन) बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न रोक लगाइएको छ।
त्यस्तै औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने ।
मास्क बिना घर बाहिर निस्कन नपाइने ।
एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधनबाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न नपाइने ।
जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटारलगायत प्रवेश नाकाहरुबाट बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म पैदल आवातजावत गर्न पनि रोक लगाइएको छ ।
