
बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ ।
ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।
जिल्ला अदालत काठमाडौंले बिहीबार दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश कृष्णजंग शाहको इजलासले थुनछेक बहस गर्दै कार्कीमाथि एसिड हान्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
अदालतले एसिड प्रहारबाट घाइते कार्कीको उपचारमा राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ।
यसअघि एसिड प्रहार गर्नेहरुलाई कारगार पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो।
तर यसपटक अदालतले सुरुवाती सुनुवाइमै पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो। उक्त मुद्दामा निशुल्क बहस गरेकी अधिवक्ता राधिका खतिवडाले सुरुवाती सुनुवाइमै राहतकोषबाट क्षतिपूर्ति दिने आदेशले पीडितलाई उपचारमा सजिलो हुने बताइन्।
साउन ८ गते राति कार्कीमाथि काठमाडौंको बाफलमा सँगै खाजा खान बोलाएर फर्किने क्रममा मोहम्मद आलमले आफ्ना सहयोगी फैयाज आलमलाई प्रयोग गरी एसिड आक्रमण गरेको प्रहरीको दावी छ । पवित्रा हाल कीर्तिपुर अस्पतालमा उपचाररत छिन् ।
उक्त मुद्दाको थुनछेक बहसका लागि पीडितको तर्फबाट १ सय जना कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए। तर अधिवक्ताहरु राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौलासहितले बहस गरे।
यस्तै सरकारी वकिल चपला पोखरेल पनि बहसमा सहभागी थिइन्।
हाल कीर्तिपुर अस्पतालमा उपचाररत पवित्रालाई कोठाबाट दही किन्न निस्किएको बेलामा एसिड हानिएको थियो।
पवित्रालाई एसिड हानेलगत्तै भागेका उनीहरुलाई महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले केही घण्टामै समातेको थियो।