
हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षीय बग्गा भन्ने प्रदिप यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाईट्रोसन र ५१ चक्की नाईट्राभेट सहित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए ।
यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लाहरुमा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके रहेको खुल्न आएको छ ।
शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको भएको छ ।
यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाँउपालिका(१९ का मन्दिप तामाङलाई मेड ईन युएसए लेखेको अटोमेटिक पेस्तोल र ४ थान उक्त पेस्तोलको गोली सुनसरी ईटहरी उपमहानगरपालिका-१२ खनार बस्ने ३५ वर्षीय शुशिल कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए ।
सो क्रममा मन्दिप र शुशिललाई विराटनगर महानगरपालिका-१६ स्थित विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा चलाएको र उक्त हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाईके यादव रहेको खुल्न आएको थियो ।
भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत– १० बस्ने ३९ वर्षका बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धार मोरङमा विचाराधीन छ ।
प्रहरी नायव उपरीक्षक राईका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने उनले बताए ।
नाकामा प्रहरीसँग घम्साघम्सी
शनिबार मध्यान्न नेपाल प्रवेश गरेका यादवसँग प्रहरीको विराटनगर– १६ दरैयामा जम्काभेट भएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेका उनलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दार सामान्य घाइते भएका छन् । घम्साघम्सी हुँदा बग्गाको शरीरमा सामान्य चोट लागेको प्रहरीको भनाइ छ । पक्राउ गर्नेक्रममा भाग्न खोजेपछि सामान्य बल प्रयोग भएको प्रहरी नायव उपरीक्षक राईले बताए ।
एक सातामा दुईवटा हतियार कारोबार
२०७५ मंसिर ३ र ८ गते बग्गाले हतियारसहित पठाएका भरिया विराटनगरबाट पक्राउ परेका थिए ।
३ मंसिरमा विराटनगर– १६ बाट उदयपुरको उदयपुरगढी गाउँपालिका– १९ का मन्दिप तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका– १२ का ३५ वर्षका सुशीलकुमार साहु पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ परे ।
भारतबाट बग्गाले पठाएको हतियार लिएर आउँदै गर्दा उनीहरु पक्राउ परेको प्रहरीको दाबी छ । लगत्तै ८ मंसिरमा विराटनगर बसपार्कबाट दुई जना भरिया र पेस्तोल बुझ्न काठमाडौंबाट आएका अर्का भरिया पक्राउ परेका थिए ।
प्रदीपले पेस्तोल र लागूऔषध विराटनगर – १६ का २२ वर्षका विद्यानन्द मण्डल र २० वर्षका अनुप गिरीको पेटमा टेपले बाँधेर १०५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर, ३८० एम्पुल लागूऔषध, कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली पठाएका थिए ।
विराटनगर वसपार्कबाट हतियार लिन आएका सुनसरी धरान घर भई ललितपुर– एकान्तकुनामा बस्दै आएका ४१ वर्षका रुपम राईसहित दुईजना भरिया पक्राउ परेका थिए ।
यसैगरी २०७५ मंसिर ८ गते उनले विराटनगर महानगरपालिका-१६ बस्ने २२ वर्षीय बिध्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई ३ सय ८० एम्पुल विभिन्न नियन्त्रित लागूऔषध, १ सय ५ ग्राम १ सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र २ राउण्ड गोली समेत विराटनगरस्थित बसपार्कमा सुनसरी धरान उपमहानगरपालिका घर भई ललितपुर ललितपुर महानगउरपालिका-४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी दिई पठाएका थिए।
सो घटनामा संलग्न ३ जनालाई प्रहरीले विराटनगर महानगरपालिका-११ बसपार्कबाट पक्राउ गरी लागूऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा सो हातहतियार र लागूऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाईके समेत यादव रहेको खुल्न आएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।