
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुन: नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए ।
घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो । राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेका थिए ।
आफ्नो नामका नक्कली खाता अर्थात ‘फेक अकाउण्ट’बाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुन थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक खातालाई मात्रै विश्वास गर्न आग्रह गरेका छन् ।
हाल बन्द गरिएको @kulman_ghising7 नामक ट्वीटर ह्यान्डलबाट घिसिङको पुनःनियुक्ति भएको जानकारी गराइएको थियो । तर, घिसिङले भने आफ्नो फेक अकाउन्ट खडा गरी गलत समाचार सम्प्रेषण भएको स्पष्ट पारेका छन् ।
आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घिसिङले भनेका छन्, ‘मेरो फेक अकाउनण्ट खोलि विभिन्न समाचारहरु सम्प्रेषण भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउण्ट नभएको जानकारी गराउँदछु ।’
घिसिङलाई उक्त पदमा पुनर्नियुक्ति गर्न चौतर्फी आवज उठिरहेको बेला घिसिङका फेसबुकमा र ट्विटरमा भएका नक्कली अकाउन्टबाट विभिन्न गलत सूचना फैलिइरहेका छन् । मंगलबार पनि मन्त्रीपरिषद्ले कार्यकारी निर्देशकको पद चार वर्ष थपेको भन्दै नक्कली ट्विटर अकाउन्टबाट समेत प्रचार भएको थियो ।

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुनः कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् ।
कुलमान नेपालीका एक त्यस्ता प्रिय पात्र हुन् जसले दैनिक १८ घण्टा लामो कहालिपूर्ण लोडसेडिङको अन्त्य गरिदिएका छन् । उज्यालो नेपालका अभियन्ता घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
सर्वसाधारणलाई उनको बहिर्गमनपछि फेरि अन्धकारमा बस्नु पर्ने पो हो की भन्ने आशंका उब्जिएकाले पनि उनी यती धेरै चर्चाका पात्र बनेका हुन् । लामो समय घाटामा रहेको बिद्युत प्राधिकरणलाई उनी आएदेखि निरन्तर नाफाको बाटोमा पुर्याए । लामो समय लोडसेडिङको समस्या संग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए ।
त्यसैगरी अभिनेता दिपक राज गिरीले राखेका फेसबुक स्ट्याटसले पनि जनाता झुक्किएका छन । उनको स्ट्याटसलाई पढ्दै नपढी धेरैले कुलामान नियुती भनेर बुझेपछी प्रष्ट पार्नुपरेको छ ।
