
अनलाइन सामान डेलिभरी गर्ने ६५ जनालाई निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै पक्राउ गरिएको छ। सामान डेलिभरी गर्न हिँडेकालाई सवारी साधनसहित नियन्त्रणमा लिईएको हो।
इ-कमर्स कम्पनीको कार्यालयमा नै पुगेर प्रहरीले सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा फूडमाण्डू, यूजी केक, नेप एक्सप्रेस, भोज डिल, किराना स्टोर जस्ता सेवा प्रदायकका कम्पनीका सञ्चालक र डेलिभरी ब्वाई रहेका छन । दरबारमार्ग, महाराजगञ्ज, मालीगाउँ, तीनकुने, बानेश्वर लगायतका ठाउँबाट सञ्चालकलाई र डेलिभरी ब्वाईलाई भेटेकै ठाउँबाट प्रहरीले कारवाही गरेको हो ।
पक्राउ गरिएका सबैलाई होल्डिङ सेन्टरमा लगेर राखिएको थियो।
निषेधाज्ञाको वावजुद उपत्यकामा भिड कायमै रहेको हुनाले मानवीय गतिविधि रोक्न र संक्रमणको जोखिम कम गर्ने प्रयासको रुपमा कारबाही चलाइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । प्रहरीका अनुसार एक ठाउँमा हुने व्यवसायले सीमित क्षेत्रमा संक्रमण फैलिन्छ तर होम डेलीभरी र टेक-अवे सेवाले झनै रोग बिस्तार गर्ने सम्भावना रहन्छ ।
स्थानीय प्रशासन र रोग संक्रमण ऐन अन्तर्गत जिल्ला प्रशासनबाट प्रहरीले यस्ता गतिविधि रोक्न आदेश पाएको र सोहीअनुसार काम गरिएको प्रहरीको भनाइ छ ।

निषेधाज्ञाको बुँदा न. १४ लाई देखाउँदै प्रहरी भन्छ “निषेधाज्ञामा अत्यावश्यक बाहेकका व्यवसाय सञ्चालन गर्ने अनुमति छैन। अनलाईन डेलिभरी गर्ने कम्पनीहरुलाई जिल्ला प्रशासनले अत्यावश्यकको सूचीमा राखेको छैन त्यसैले पक्राउ गरिएको हो।”
यसै सम्बन्धमा धेरै सेवा सञ्चालकले सुचना निकाल्दै सेवा स्थगन भएको जनाएका छन ।
