
चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा देखिएको छ । सोमबार सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच फायरिङ भएको छ ।
सीमामा खटिएका आफ्ना सैनिकहरुतर्फ लक्षित गर्दै भारतीय सैनिकले वार्निङ फायर गरेकाे चीनले आरोप लगाएको छ।
दुवै देशका सैनिकले एकअर्कालाई पहिले फायरिङ गरेको आरोप लगाएका छन् ।
चिनियाँ सैनिकले भारतीय सैनिकले फेरि वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ ।
वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तैनाथ भारतीय सैनिकले एकपटक फेरि सोमबार गैरकानूनी तरिकाले वास्तविक सीमा रेखालाई पार गर्दै चिनियाँ सीमामा तैनाथ सैनिकमाथि वार्निङ फायर खोलेको आरोप चीनले लगाएको हो।
चीनका अनुसार यसबारे चिनियाँ सेनाले कुराकानी गर्न चाहेको छ तर भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाई उल्लेख गर्दै लेखेको छ ‘अवस्थालाई काबुमा लिन चिनियाँ सैनिकले जवाफी कारबाही गर्नुपरेको थियो।’
समाचार एजेन्सी एएनआईले पनि एलएसी अन्तर्गत पूर्वी लद्दाखमा फायरिंग भएको जनाएको छ।
चिनियाँ सेनाका प्रवक्ता सिनियर कर्नल जंग शियूलीले एक बयान जारी गरेर भनेका छन्, ‘भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी इलाकामा एलएसी पार गरे र पंन्गोंग त्सो लेकको दक्षिणी किनारा नजिकैको शेनपाओ पहाडको इलाकामा घुसे। ’
बयानका अनुसार भारतीय सेनाको यो कदम दुवै पक्षबीच भएको सहमतिको गम्भीर उल्लंघन हो र यो घटनाले सो क्षेत्रमा तनाव बढाएको छ।
चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सैनिकले आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने चेतावनी पनि दिएका छन्। यो ताजा विवाद यस्तो समयमा पैदा भएको छ जब भारत र चीनका विदेशमन्त्री आपसमा छलफल गर्ने क्रममा छन्।
भारतीय विदेश मन्त्री एस जयशंकर मंगलवार चार दिने यात्राका क्रममा मस्को गइरहेका छन्। यस क्रममा एस जयशंकर आफ्ना चिनियाँ समकक्षी वांग यीसँग पनि द्विपक्षीय वार्ता गर्नेछन्।