
कोरोना भाइरसका कारण बिगत सात महिना यता चलचित्र सम्बन्धी औपचारिक कार्यक्रम आयोजना हुन नसकिरहेकाे बेला सात महिनापछि पहिलाेपटक प्रेमकथानक चलचित्र “हिडदा हिडदै”काे निर्माण घाेषणा गरिएकाे छ । चलचित्रकाे राजधानीमा सोमबार पत्रकार सम्मेलन गरेर घाेषणासंगगै शुभ मुर्हत पनि सम्पन्न गरिएको छ ।
असाेजकाे दाेस्राे साताबाट छायांकन शुरु गरिने यस चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेतका साथमा नवनायिका रेखा शाह मुख्य भूमिका रहनेछन । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दैछन ।
भौतिक दुरी कायम राख्दै गरिएकाे शुभमुहुर्त कार्यक्रममा चलचित्रका कलाकारहरुले मुर्हुत सर्ट प्रस्तुत गरेका थिए । मुर्हुत सर्टमा आकाश, सलोन र रेखाले अभिनय गरेका थिए ।
रंगपत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको मुर्हत सर्टमा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले क्यामेरा स्वीच अन, रंगपत्रकार डब्बु क्षेत्रीले क्ल्याप र चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले नरिवल फोडेका थिए ।
काठमाडाै उपत्यका र तराईमा छायांकन गरिने यस चलचित्रको निर्मातामा दिल लामा, रामकुमार थिङ र पारस गुरुङ छन भने फिल्मकाे प्रस्तुति तथा स्क्रिपट सुशील पंगेनीकाे रहेकाे छ ।
त्यसैगरि चलचित्रमा देव महर्जनको द्धन्द्ध निर्देशन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, सुमनकुमार तण्डुकारकाे छायांकन रहने छ ।
कार्यक्रममा अभिनेता आकाशले फिल्ममा आफू एक प्रेमी पात्रको रुपमा देखिने बताए । अभिनेता सलोनले आफू दर्शकलाई हँसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने बताए । त्यस्तै नव-अभिनेत्री रेखाले यस चलचित्रले आफूलाई नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेत्रीका रुपमा स्थापित गर्ने बिश्वास ब्यक्त गरिन् ।
चलचित्रकाे लागि एक नायिका सहित अन्य कलाकारहरुकाे छनौट हुन बाँकी रहेको बताइएकाे छ ।
चलचित्रकाे औपचारिक रुपमा मुर्हुत कार्यक्रम गरिनु अघि सोमबार बिहान निर्माण टिमले कोटेश्वरस्थित माता भगवतीको मन्दिरमा स्क्रिप्ट पूजा गरेका थिए ।