
ढुङ्गा प्रहार गरी आफ्नै २३ वर्षीया श्रीमती जिना राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १५ खोरीयाबस्ती बस्ने ३१ वर्षीय अर्जुन राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिनालाई ढुङ्गा प्रहार गरी शव पुलमै छाडेर अर्जुन भागेका थिए । फरार भएका अर्जुनलाई सोही ठाउँस्थित धरानबाट पानबारी जाने बाटोको सेउटी पुलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटना जीना माइतबाट आएकै दिन बुधबार साँझ ८ बजेतिर भएको हो । श्रीमानसँग घरायसी मनमुटाव भएपछि जीना एक महिनाअघि माइत घर गएकी थिइन् । जीनालाई बुधबार मात्रै सम्झाईबुझाई गरेर अर्जुनले तिहारको भाइटीका सकिएपछि घर ल्याएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
इलाका प्रहरी कार्यालयका डीएसपी ढुण्डीराज न्यौपानेले घरायसी मनमुटावको कारण निर्माणधिन सेउती खोलाको पुल नजिकै लगेर अर्जुनले श्रीमती जीनाको टाउकोमा ढुङ्गाले हानेर विभत्स हत्या गरेको पुष्टि गरे ।