
विहारका पूर्व मूख्यमन्त्री लालु यादवका पुत्रद्वय तेजप्रताप र तेजस्वी यादवविरुद्ध उजुरी दर्ता।
राष्ट्रिय जनता दलका नेता तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव र उनका दाइ तथा पूर्व मन्त्री तेजप्रताप यादवसहित ६ जनाविरुद्ध हत्या आरोपमा उजुरी दर्ता भएको छ ।
तेजप्रताप विहारका पूर्वमन्त्री हुन् भने तेजस्वी यादव पूर्व उप–मुख्यमन्त्री हुन्।
तेजस्वीसहित ६ जनामाथि पार्टीका पूर्व नेता शक्ति मलिकको हत्या आरोपमा उजुरी दर्ता भएको हो । पूर्णिया जिल्लामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको हो ।
मलिकको आइतबार बिहान हत्या भएको थियो । उनी राष्ट्रिय जनता दलको अनुसूचित जाति–जनजाति प्रकोष्ठका सचिव पनि थिए । तेजस्वी, तेजप्रताप वा राष्ट्रिय जनता दलको तर्फबाट यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतक शक्ति मलिककी श्रीमती खुशबू देवीको बयानको आधारमा ६ जनाविरुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । तेजस्वी र तेजप्रतापसहित अनिल कुमार साधु, कालू पासवान, सुनिता देवी र मनोज पासवानविरुद्ध उजुरी दर्ता भएको हो ।
अनिल कुमार साधु लोक जनशक्ति पार्टीका वरिष्ट नेता तथा केन्द्रीय मन्त्री रामविलास पासवानका ज्वाईँ तथा राजदका अनुसूचित जाति–जनजाति प्रकोष्ठको पूर्णिया जिल्लाका अध्यक्ष हुन् ।
शक्ति मलिकका नजिकका व्यक्तिहरुका अनुसार उनले अररिया जिल्लाको रानीगञ्ज विधानसभा क्षेत्रमा पार्टीका तर्फबाट टिकट मागिरहेका थिए ।
हालै जारी गरेको एक भिडियोमा मलिकले पार्टी नेतामाथि गम्भीर आरोप लगाएका थिए। पार्टी नेतासँग रुष्ठ भएका उनले रानीगञ्ज क्षेत्रबाट निर्दलीय प्रत्यासीका रुपमा चुनाव लड्ने तयारी गरेका थिए ।
शक्ति मलिककी आमाका अनुसार आइतबार बिहान ६ बजेतिर तीनजना घरमा पसेर उनको हत्या गरेको बताएकी छन् ।