
उपनिर्वाचनमा विजयी भए अन्तरकलह अन्त्य हुन्छ
चितवन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् ।
आइतबार चितवनमा कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कांग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनकाक्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो ।
पाटीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भने–‘उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनोस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकाक्रममा अन्य शक्ति एक ठाउँमा र कांग्रेस दुई पार्टीजस्तो भएका कारण हार व्योहोर्नुपरेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारबाही गरिने चेतावनी दिए ।
अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने समयमा कांग्रेसभित्र गुट–उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले बताए ।
स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उनले ‘संघ र प्रदेशमा हुने निर्वाचनका लागि आज साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउनेछ’–भने ।
जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने उनको जिकिर थियो ।
कांग्रेसको जनमत अहिलेपनि नघटेको बताउँदै उनले जनमतको कदर हुनेगरी काम गरिने विश्वास व्यक्त गरे ।
भ्रातृसंगठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने सो अवसरमा उनले जानकारी दिए । रासस