
समता फाउन्डेसनको लगानीमा अभिनेता राजेश हमालले सञ्चालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका छन् ।
सामाजिक संजालमा अभिनेता राजेश हमालको प्रस्तुतीमा सञ्चालित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ क्रिस्चियनको लगानीमा हिन्दुविरोधी भन्दै विरोध हुन थालेको छ ।
‘जातको प्रश्न’ विगत तीन महिनादेखि कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार साँझ साढे ६ बजे प्रशारण हुँदै आइरहेको छ । युट्युबमा राखिएको विवरण अनुसार, टिभी कार्यक्रम, समता फाउन्डेसनले क्रिश्चियन एड नेपालको सहयोगमा प्रोडक्शन पार्टनर शान्ता नेपाली प्रोडक्शन्सको साथ निर्माण गरेको हो ।
कार्यक्रमले नेपालमा हुँदै आईरहेको जातीय विभेद र छुवाछुतका बारेमा विभिन्न क्षेत्रका अतिथिहरुलाई निम्त्याउदै उहाँहरुको धाराणा राख्दै आएको छ ।
कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्याएको, क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको हो । मानिसहरुले कार्यक्रम र राजेश हमालविरुद्ध नारावाजी गर्दै उनीहरुका पोस्टर जलाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कार्यक्रमको विरोध गर्दै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पुतला समेत जलाईएका छन् ।

मुख्यत: कार्यक्रम क्रिश्चियन एड नेपालले प्रायोजन गर्नु देखिएको छ भने आलोचकहरूले यो कार्यक्रम मार्फत नेपालमा धार्मिक र जातीय द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।
अभियानका राष्ट्रिय संयोजक विनय यादवले कार्यक्रम मार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको बताउँछन् । नेपाली समाजमा फाटो ल्याउन र ८० प्रतिशत भन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी शुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग यादवको रहेको छ ।
कार्यक्रमको विरोध हुन थाले पछी समता फाउन्डेसनले एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा जनाइए अनुसार कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह राखेको छैन । ‘दलित समुदाय विरुद्ध भइरहेको यी श्रृंखलावद्ध हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको संस्कृति बढाउनका लागि समता फाउन्डेसनले जातको प्रश्न नामक टिभी उत्पादन गरेको हो,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
साथसाथै सामाजीक सन्जालमा गलत अभिव्यक्ती राखेर अफवाह फैलाईएको घटनाप्रती संस्थाको गम्भिर ध्यान आकर्षण भएको जनाएको छ । यस्ता कृयाकलाप दन्ण्डनिय रहेको र अनधिकृत रुपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग नगर्नहुन सबैलाई सचेत हुन अनुरोध गरेको छ ।
