
डडेल्धुरा, चिकित्सा शिक्षा सुधारको माग राख्दै आफ्नो १७औं पटकको अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएका डा. केसीलाई थप उपचारका लागि जिल्लाबाहिर सुविधासम्पन्न अस्पतालमा लैजान अस्पतालले सुझाएको छ ।
तर, केसीले भने आफू ठीक रहेको भन्दै बाहिर जान मानेका छैनन् । अनशनको पाँचौं दिन गएको शुक्रबार स्वास्थ्यमा समस्या आएपछि केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।
केसीको पिसाबमा ‘क्रियटिनिन’ बढेको र चिनीको मात्रा घटेको जनाइएको छ । यस्तै, शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।
डडेल्धुरा अस्पतालमा ‘आइसीयु’ नहुँदा चिकित्सकलाई थप समस्या परेको हो । डडेल्धुरामा गएको सोमबारदेखि अनशन सुरु गरेका डा. केसीको अनशनको आज सोमबार आठौं दिन हो ।
डा. केसीको समर्थन तथा जीवनरक्षाको माग गर्दै ऐक्यबद्धता व्यक्त गर्नेहरुसमेत बढ्दै गएका छन् । केसीले सातबुँदे मागसहित अनशन सुरु गरेका हुन् ।