
बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् ।
भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-७ का पार्वती चन्द तथा अर्की पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छन् । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र दुर्घटनाको कारण यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।
भारतबाट पेन्सन बुझेर फर्किएका भारतीय भूपू सैनिक परिवार चढेको जिप मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो । जिपमा ९ जना सवार थिए । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले चालकसहित अरू ५ जना घाइते भएकाे बताए।
गाडी चालक तथा साहु दशरथचन्द नगरपालिका-४ का गापाल कार्कीकाे उपचारका लागि धनगढी रिफर गरिएको उनले बताए । बाँकीकाे बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
यस अघि २७ कात्तिकमा पनि बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।