
विगत १५ वर्ष देखि शारिरिक सुगठनमा लागेका भक्तपुर स्थायी ठेगाना भई हाल पोखरा बसोबास गरि पावर जिम एण्ड फिटनेस संचालन गर्दै आएका राजेश सुवालले “वल्ड पावर लिफ्टिङ च्याम्पियनसीप २०२०” मा रजत पदक हासिल गरेका छन् ।
वल्ड पापर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पवार लिफ्टिङ फेडेरेशन ईन्डियाको आयोजनामा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१ औं संस्करणको प्रतियोगितामा सिनियरतर्फ १०० केजीमा नेपालका सुवालले रजत पदक हात पारेका हुन ।

उनले कुल ५४५ केजी उठाएका थिए । उक्त प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले सहभागीता जनाएका थिए । पाँच खेलाडी मध्ये तिन खेलाडीले स्वर्ण पदक र एकले रजत गरि कुल चार उपाधी नेपालले हासिल गर्न सफल भएको छ । स्वर्ण पदक जित्नेमा नेपालका हसन गुरुङ्ग ८२.५ केजी,आशिष आले मगर ११० केजी र श्रुती कार्की ५६ केजी रहेका छन् ।
सुवालले गत वर्ष भक्तपुरमा आयोजना भएको वेन्च प्रेस प्रतियोगितामा १६५ केजी तौल उठाई नेपालको ऐतिहासिक किर्तिमान समेत बनाएका थिए ।
