
बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन बिहीबार मात्रै हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका भएपनि कार्य व्यस्तताका कारण मन्त्रिमण्डल पुनर्गठनको काम बिहीबारका लागि सरेको हो।
बालुबाटारमा बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक लगत्तै मन्त्रीमण्डल हेरफेर गरेर आजै सपथ हुने बताइएको थियो।
बालुबाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली व्यस्त भएका कारण बुधबार मन्त्रीहरुको हेरफेर हुन नसकेको हो। यद्यपि मन्त्री बन्ने सबैको टुंगो लागि नसकेको हुँदा मन्त्रिमण्डल पुनर्गठनको काम बुधबार नभएको स्रोतको दाबी छ।
प्रधानमन्त्री ओली र दाहालबीच मन्त्रिमण्डल हेरफेरको सम्बन्धमा बुधबार बिहान छलफल भएको छ। त्यसलगत्तै दुबै अध्यक्ष थप छलफलका लागि राष्ट्रपति भवन शितल निवास पुगेका थिए।
बुधबार बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले पाँच वर्ष सरकार चलाउने र दाहाललाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको थियो।