
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले संसदीय व्यवस्था लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउनुभएको छ ।
निर्वाचन पर्यवेक्षण समिति काठमाडौँको आयोजना र दैनिक लुम्बिनीको सहकार्यमा आज बुटवलमा भएको ‘लोकतन्त्र सशक्तीकरणका लागि संसदीय शासन प्रणाली र प्रतिपक्षको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “लोकतन्त्रमा जावफदेहितासहितको प्रतिपक्ष आवश्यक हुन्छ ।”
मन्त्री गिरीले मुलुकमा विरोधका लागि विरोध गर्ने प्रवृत्ति मौलाएको भन्दै यसले सही निकास दिन नसक्ने बताउनुभयो । सत्ता निरङ्कुश हुने डर रहिरहने भएकै कारण संसदीय व्यवस्थामा प्रतिपक्षको कल्पना गरिएको उल्लेख गर्दै त्यो प्रतिपक्ष विरोधका लागि विरोध गर्ने मात्रै नभई विकल्पसहितका सुझाव दिने हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “सत्ताले ल्याएका योजनामा असहमति हुँदा प्रतिपक्षले विकल्पसहित आउनुपर्छ, तब मात्रै नीति कार्यान्वयनमा सकारात्मक परिणाम आउँछ”, मन्त्री गिरीले भन्नुभयो, “तर हाम्रो मुलुकमा त्यसो हुन सकिरहेको छैन ।”
आफ्नै सत्ताको विरोध गरेर सरकार गिराउने घिनलाग्दो प्रवृत्ति देखिनु गलत रहेको बताउँदै उहाँले यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । संसदीय व्यवस्थामा अस्थिरता वा निरङ्कुशता हुन लागे जनतामा मत लिन जानुको विकल्प नभएको उहाँको भनाइ छ ।
त्यस्तै लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले सत्ता पक्ष र प्रतिपक्षमा लोकतान्त्रिक सचेतनाको जरुरी रहेको उल्लेख गर्नुभयो । जोसुकै नेता सत्तामा गए पनि सामान्तवाद प्रवृत्ति देखाउने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले अब हरेकको चित्तबाट नै सामान्तवाद हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कांग्रेसकी सांसद रमा अर्यालले प्रतिपक्ष कमजोर हँुदा सत्ता निरङ्कुश हुन सक्ने गरेको धारणा राख्नुभयो । कांग्रेसका महासमिति सदस्य युवराज गिरीले शासन व्यवस्थाप्रति इमान्दार भए समस्या समाधान हुने बताउनुभयो ।
मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले सत्ता र प्रतिपक्ष दुवै आफ्नो जिम्मेवारीबाट चुक्दा समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख सम्झना शर्माले सरकारले मानव अधिकार संरक्षणको जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै यसमा प्रतिपक्षको समन्वय हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका सल्लाहकार पदम श्रेष्ठले सत्ता र विपक्षीहरुमा नैतिकता र इमान्दारिताको अभाव देखिएको धारणा राख्नुभयो । पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले वर्तमान समयमा मिडियाबाहेक अरू कोही प्रतिपक्ष नदेखिएको बताउनुभयो ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पर्यवेक्षण समितिका सदस्य राजाराम बर्ताैलाले सत्ता जहिले पनि निरङ्कुश हुने र त्यसलाई रोक्ने भूमिका प्रतिपक्षको रहने बताउनुभयो ।
सिद्धार्थ पब्लिकेशन प्रालि एवं दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाईंले संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रवृत्ति पुरानै रहेको र प्रतिपक्षभन्दा सत्तापक्षका समूह नै प्रतिपक्षको भूमिकामा देखिँदा सरकारले काम गर्न नसक्ने प्रवृत्ति मौलाउँदै गएको धारणा राख्नुभयो ।