
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आपसमा अन्तरविरोध भए पनि चुनावमा मिलेर जान प्रस्ताव गर्दा उहाँले अस्वीकार गरेको सुनाउनुभयो ।
प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम, केरुङ–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माण हुने अठोट व्यक्त गर्दै विभिन्न विमानस्थल र पूर्वाधार विकास-निर्माण तीव्र गतिले भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँनयाँ काम भइरहेको छ । औद्योगिक क्षेत्रको विकास गरिएको छ । एकै दिनमा ३०० भन्दा बढी अस्तपाल उद्घाटन गरेका छौँ । जनता आवास निर्माण, विद्यालय र अस्पतालको पुनः निर्माण, कृषिको आधुनिकीकरणजस्ता धेरै क्षेत्रमा प्रगति हासिल भएको छ । भएको कामलाई पनि नदेख्ने दृष्टिदोष भएकाबारे म टिप्पणी गर्न चाहन्न ।
“हाम्रो काम भत्काउने होइन, देश बनाउने हो । हामीले अब आन्दोलन र पार्टी जोगाउनुपर्छ । तपाईँहरु अघि बढ्नुस्, मेरो शुभकामना छ”, उहाँले भन्नुभयो ।
सो अवसरमा नेकपाका नेता लेखराज भट्टले सडकमा गएर पार्टी एकता नहुने जनाउँदै चुनावको तयारीमा लाग्न सबै दललाई आग्रह गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले ओली नेतृत्वको नेकपामा ‘लिगेसी’ रहेकाले यस पक्षमा लाग्न आह्वान गर्दै सडकमा विरोधका नारा नउठाई सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानलाई साथर्क बनाउनुपर्नेमा जोड दिनुभयो । नेकपाका केन्द्रीय सदस्य कर्णबहादुर थापाले सत्ताका लागि भन्दा पार्टी एकतामा आबद्ध हुन आग्रह गर्नुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिं ठगुन्ना र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले अघि सारेका विकासनिर्माणका कामलाई थप अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।