
जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य अझै रोकिएको छैन । हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ ।
यहाँका गाउँघरका व्यापारीले मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएको दिपायल सिलगढी नगरपालिका–१ का भीमबहादुर साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमा व्यापारीले रिचार्ज कार्डमा मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएका छन्। सम्बन्धित निकाय मौन बसेका छन् ।”
जिल्ला सदरमुकाम भन्दा बाहिर रहेका सबैजसो ग्रामीण भेगहरुमा व्यापारीले रिचार्ज कार्डमा उल्ल्ेखित अधिकतम खुद्रा मूल्य भन्दा १० देखि २० रुपैयासम्म बढी लिने गरेको प्रयोगकर्ता (ग्राहक)को गुनासो छ । यहाँका गाउँमा व्यापारीले रु १०० को रिचार्ज कार्डमा रु १२० र रु ५० को कार्डमा रु ६० लिने गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको बोगटान फुड्सिल , जोरायल, पूर्वीचौँकी, सायल, आदर्श, बडिकेदार गाउँपालिकालगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रमा पनि अधिकतम खुद्रा मूल्य भन्दा बढी रुपैयाँ लिने गरेको जनाइएको छ । नेपाल टेलिकमले कुनै चासो नदिँदा समस्या जस्ताको तस्तै रहेको जोरायल –५ का नीरज विष्टको भनाइ छ । कार्डहरुमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भए पनि व्यापारीले उक्त कुराको बेवास्ता गर्दै नियम विपरीत ग्राहकसँग बढी रकम असुल्ने गरेको उहाँको भनाइ छ ।
गाउँमा रिचार्ज कार्ड बिक्री गर्ने ग्राहकलाई रिचार्ज कार्डमा उल्लेख भएको मूल्यमा छुटदिइने भएकाले उनीहरुले गाउँमा बिक्री गर्दा जति रकमको रिचार्ज हो त्यत्ति रकम मात्रै लिनुपर्ने दिपायल पिपल्ला बजारमा नेपाल टेलिकम तथा एनसेलका रिचार्ज कार्ड थोकमा बिक्री वितरण गर्दै आउनु भएका डिलर व्यापारी किरण भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले गाउँका व्यापारीलाई कार्ड बिक्री्र गर्दा छुट दिएका हुन्छौँ, उहाँहरुले तोकिएको मूल्यमा ग्राहकसँग कार्ड बेचेकुनै घाटा हुँदैन ।” नेपाल टेलिकम दिपायल राजपरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले गाउँमा टेलिकमका कार्डमा तोकिएको भन्दा बढी मूल्य लिएको विषयमा अनुगमन गरिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्डमा बढी मूल्य लिइँदैछ भन्ने सुन्नमा आएको छ, हामी खास कुरो केहो छानबिन गर्ने तयारीमा छौँ, गलत देखिए कारवाही हुन्छ ।” नेपाल टेलिकम व्यापार शाखा अत्तरियाका मगेन्द्र चौधरीले कार्डमा तोकिएको भन्दा बढी मूल्य लिने गरेको गुनासो आएपछि टेलिकमबाट छानबिनका लागि कर्मचारी खटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“कार्डमा मनपरी मूल्य लिएको विषयमा कर्मचारी खटाएर अनुगमन गराउदै छौँ, गलत प्रमाणित भएका ठाउँमा तत्काल कारवाही हुन्छ ।”
बोयर बोकाबाख्राबाट मनग्य आम्दानी
साबिकको छतीवन गाविस हाल जोरायल गाउँपालिका–२ बुडर रुपसकाडाका किसानले पालेका बोयर बाख्राले अहिले मनग्य आम्दानी दिन थालेको छ । बोयर बाख्रापालन गर्नका लागि स्रोत केन्द्र स्थापना गरिएपछि त्यहाँ बोयर बोका, बाख्रा बिक्रीले किसानको आम्दानी हुन थालेको छ । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्युरिटी कार्यक्रमले बहुदाताको सहयोगमा नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना, जिल्ला पशु सेवा कार्यलय सिलगढीमार्फत करीब पाँच वर्ष पहिले रुपसकाडामा बोयर बाख्रा स्रोत केन्द्र स्थापना गरिएको थियो । बोयर बाख्रा बिक्री वितरणले किसानको मनग्य आम्दानी हुन थालेको बोयर बाख्रापालक किसान दीपक आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “बोयर बाख्रा पालन गर्नुभन्दा पहिले घरखर्च धान्न पनि धौ धौ थियो, अहिले मुखले मागेको मूल्य पाएका छौँँ, हामी खुशी छौँ ।”
यहाँका बाख्रापालक किसानको उत्पादन र उत्पादकत्व बढाई आयआर्जनमा वृद्धि गर्दै पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले स्थापित केन्द्रमा अहिले बोयर बोका तथा बाख्रा किन्नेको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी भरत कुँवरले बताउनुभयो ।
केन्द्रमा विश्व कृषि तथा खाद्य सङ्गठनमार्फत अष्ट्रेलियाबाट आयातीत शुद्ध नश्लका बोयर जातका १३ प्रजनन बोका वितरण गरिएको थियो । अहिले दैनिक बोयर बोका तथा बाख्रा बिक्री हुन थालेपछि यहाँका किसान पनि निकै खुशी भएको स्थानीयवासी मीनबहादुर रावलले बताउनुभयो ।
स्थानीय जातका खसीबोकाका तुलनामा बोयर जातका खसीबोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लामा बोयर जातको प्रजनन बोकाको माग अत्याधिक रहेको मत्स्य विकास तथा पशुपन्छी विकास प्रदेश कार्यालय दिपायल राजपुरका प्राविधिक गणेश धामीले बताउनुभयो । स्थानीय बोयर पालक किसानका अनुसार बोयर जातका बोकाको बजार मूल्य जिउँदोमा रु ८०० केजी रहेको छ । आम्दानी हुने तथा चाँडो फष्टाउने भएकाले पछिल्लो समय यहाँका किसान प्रजनन बोयर बोकापालनमा आकर्षित हुन थालेको जोरायल गाउँपालिका–२ बुडरका विजय गाहा मगरले बताउनुभयो ।
रुपसकाडाका बोयर बोकाले नै केही समयपछि मासुका लागि डोटी सक्षम हुने यहाँका बोयर बाख्रापालक किसानको जिकिर छ । तत्कालीन जिल्ला पशु सेवा कार्यालय सिलगढीबाट कुल २३२ क्रस बोयर प्रजनन जातका बोका यहाँका अन्य पहाडी जिल्ला अछाम, दार्चुला र बैतडीका विभिन्न समूहमा बिक्रीवितरण गरिएको थियो । वितरण गरिएका ठाउँमध्ये डोटीको रुपसकाडामा भने यो व्यवसाय निकै फष्टाएको र अन्य ठाउँमा पनि क्रमिक रुपमा फस्टाउँदै जान थालेको जानकारी आएको मस्स्य विकास तथा पशुपन्छी विकास प्रदेश कार्यालय दिपायल राजपुरले जनाएको छ ।
प्रहरी भर्ना छनोट जारी
सुदूरपश्चिम प्रहरी तालीम केन्द्रमा भर्ना छनोट जारी रहेकोे छ । आगामी माघ २१ गतेसम्म भर्ना छनोट सञ्चालन हुने कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ४०० जनाको भर्ना छनोट गरिँदै आएको छ । देशका पूर्वी जिल्लाबाट पनि उक्त भर्नामा सहभागी हुन युवा आएका छन् । कूल १४ हजार ७९८ जनाले प्रहरीका जवनाका लागि आवेदन भरेका छन् । गत वर्षको भर्नामा ६ हजार ११८ जनाले आवेदन भरेका थिए ।
यही मङ्सिर ८ गतेबाट शुरु गरिएको उक्त भर्ना छनोट निष्पक्ष, पारदर्शीतासहित शुरु गरिँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रहरी निष्पक्ष र पारदर्शी रुपमा भर्ना छनोट शुरु गरेका छौँ, यो वर्ष आवेदन भर्नेको सङ्ख्या अरु वर्ष भन्दा अधिक छ ।” भर्ना छनोटमा लोकसेवा आयोग, जिल्ला प्रशासनसहितका कर्मचारी समावेश हुने गरेका छन् ।