९ बैशाख २०८२, मंगलवार

नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना

traffic police

काठमाडौँको नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको छ ।

उपत्यकाको बढ्दो जनघनत्वसँगै बढेको सवारी साधन र सवारी साधनबाट हुने ट्राफिक जाम नियन्त्रणका लागि तारकेश्वर नगरपालिका–११ नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको हो ।

आजदेखि सञ्चालनमा आएको उक्त पोष्टको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगरपालिकाका प्रमुख बोहराले ट्राफिक प्रहरी नहुँदा सवारी साधन व्यवस्थापनमा निकै समस्या हुने गरेको बताउनुभयो ।

“नेपालटारमा ट्राफिक प्रहरीको उपस्थितिसँगै हेलमेट नलगाउने, तोकेको सङ्ख्याभन्दा बढी सवारी बोक्ने, मापसे गरेर सवारी साधन चलाउनेलगायत समस्याको अन्त्य हुन्छ”, उहाँले भन्नुभयो ।महाशाखाका प्रमुख भट्टराईले उपत्यकाको बढ्दो सवारी जाम नियन्त्रणका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानीय तहमा आवश्यकताअनुसार ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गर्दै लगिएको बताउनुभयो ।

“अहिले चारजनाको दरबन्दी भएपनि आगामी दिनमा आवश्यकताअनुसार थप गर्दै लैजान्छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाका उपप्रमुख भवानी डोटेल, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख एंव प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरलगायतले सभ्य नागरिकको परिचय दिन ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।