
छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भनेर आलोचना भइरहँदा नेपाल वायु सेवा निगमको चीनका विभिन्न गन्तव्यमा उडान भर्ने प्रयासले सार्थकता पाएको छ । लामो समयको अन्तरालपछि अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल (नेपाल एयरलाइन्स)ले चीनको ग्वाङ्जाओ उडान गर्ने निश्चित भएको हो ।
निगमले सन् २०२० को जनवरी अन्तिमदेखि ग्वाङ्जाओ सिधा उडान गर्ने तयारी गरेको छ । उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पुरा गरिसकेको छ । चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको बताइएको छ ।
निगमको ग्वाङ्जाओ उडान निश्चित भएको निगमका सह–प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिनुभयो । “लामो समयपछि निगमलाई ठूलो सफलता हात परेको छ, अब निगमको जहाज चीनको ग्वाङ्जाओ शहरमा उड्ने निश्चित भएको छ । चिनियाँ सिभिल एभिएसनले आजै फोन गरेर उडानको सङ्केत दिएको छ, आज साँझसम्म इमेलमार्फत औपचारिक पत्र पनि आउनेछ”, उहाँले भन्नुभयो ।
चिनियाँ सिभिल एभिएसनको सुरक्षा चासोलाई निगमले सम्बोधन गरेको थियो । चिनियाँ एभिएसनले निगमको प्राविधिक पक्ष र ‘अपरेसनल मेनुअल’ लाई प्राथमिकतामा राखेर निगमलाई आन्तरिकरूपमा प्रश्न उठाएको थियो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड र स्वीकृतिबमोजिम यी दुवै चासोको सम्बोधन गर्दै निगमले आफ्ना कागजात चिनियाँ पक्षलाई पठाएको थियो । उक्त प्रश्नको चित्तबुझ्दो जवाफ पाएपछि चिनियाँ एभिएसनले निगमलाई उडान अनुमति दिएको निगमको भनाइ छ । निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वाङ्जाओ उडानका लागि ‘स्लट’ पाएको बताइएको छ ।
यसअघि निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।
ग्वाङ्जाओ व्यवसायिक उडानका लागि निगमको कार्यकारी समितिले छिट्टै निर्णय गर्नेछ । उक्त गन्तव्यको उडानबारे निगमको सञ्चालन र आर्थिक विभागको समन्वयमा निगम कार्यसमितिले केही दिनभित्रै निर्णय लिने निगमका सह–प्रवक्ता मिश्रले बताउनुभयो ।
एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि पछिल्लो समय चीन र नेपालबीच हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वाङ्जाओ उडान सुनिश्चित भएको जनाएको थियो । यो गन्तव्यमा निगमले सातामा तीन दिन उडान गर्नेछ ।
निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँगको पहल जारी राखेको छ । यसअघि निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङ्घाई उडानका लागि पहल भइरहेको बताउनुभएको थियो । उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।
नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । चीनमा गन्तव्य विस्तार गर्ने क्रममा हिमालयले यही मङ्सिर ४ देखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान शुरु गरिसकेको छ । कम्पनीले चीनका अन्य थप चार गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।