७ बैशाख २०८२, आईतवार

कलंकी–महाराजगञ्ज सडक विस्तार आगामी चैतसम्ममा

kalanki kathmandu ringroad

चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीकाे काम शुरु गरिएको छ।

कोटेश्वर–कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो ।
चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलंकी–महाराजगञ्ज सडकमा तयारीका काम शुरू गरिएको छ । चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो।

यस सडकमा रुख काट्ने, विद्य‌ुतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन्। कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाउन लागिएको हो।

chabahil kalanki ringroad
चक्रपथ बिस्त्तारको लागी काटिएका रुख

सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम शुरु हुने सडक विभाग, विकास सहयता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए।उनले भने, ‘विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो।’

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ। उनले भने,’खानेपानीका पाइप सार्नका लागि हामीले रकम दिइसकेका छौँ, केयुकेएल ठेक्का सम्झौतामा गएको छ।’

त्यसैगरी सडकको अधिकार क्षेत्रमा रहेका रुख काट्ने काम भइरहेको छ भने सडकको अधिकार क्षेत्रमा रहेका घर हटाउन बाँकी छन् । विद्युत् प्राधिकरणले झण्डै ४०० पोल सरिरहेको प्रमुख थापाले बताए ।

विभिन्न स्थानमा गरी २२ घर सडक निर्माण गर्ने स्थानमा रहेका प्रमुख थापाले बताए । सो घरको अधिग्रहणका लागि मूल्याङ्कनको काम भइरहेको छ । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण भएपछि नै हामीले सो स्थानमा काम गर्न पाउनेछौँ ।’स्वयम्भू, ठूलो भर्‍याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ।

झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतसम्ममा सडक हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको हो । सो सडकमा दुई ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइटर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकाेमा यस सडकमा डिभाइडर राखिने भएको छ। उनले भने,’पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो।’

बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ। आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ। महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ। यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए।

बालाजुमा निर्माण हुने ‘ओभरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ ।

पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक एक/एक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए । जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ