
हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १३ सय ३० रुपैयाँ पर्छ भने उक्त मूल्यमा ग्यास बिक्री गर्दा प्रतिसिलिण्डर १ सय ८९ रुपैयाँ घाटा रहेको निगमको दाबी छ । सो घाटा सरकारले बेहोर्दै ग्यासमा उपभोक्तालाई अनुदान दिँदै आएको छ ।
सरकारले गठन गरेको आठ सदस्यीय कार्यदलले सरकारले दिँदै आएको अनुदान हटाउन अध्ययन समितिले सुझाब दिएको छ । पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा गठित कार्यदलको प्रतिवेदनमा “नेपाल आयल निगमले खरिद मूल्यमा न्यूनतम नाफा जोडी हवाई इन्धनको स्वचालित मूल्य निर्धारण गर्नुपर्ने र त्यसो गर्दा हाल एलपी ग्यासमा दिने गरेको क्रस सब्सिडी (अनुदान) क्रमशः हटाई अटोमेटिक फर्मुलाबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न” सुझाब दिइएको छ ।