
धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ मा शुक्रबार राति १२ बजे राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको हो ।
सो बम विस्फोट हुँदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको र अर्का छोरा प्रकाश साह र छोरी अञ्जली साह पनि गम्भीर घाइते भएका छन्।
उक्त विस्फोटमा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा बमको छर्रा लागेको थियो । घाइते चारै जनाको अवस्था गम्भीर भएकाले जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो ।
उपचारका लागि धरान लगिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको मृत्यु भएको छ ।
