
खोटाङ जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला पर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला पर्नुभएको हो ।
मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आउनुभएको थियो । बेलुकी खाना खाएर सञ्चै सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताउनुभयो ।
“मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ”, दुलालले भन्नुभयो, “आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल लगिएको छ ।” आफ्नै कोठामा मृत भेटिएका ढकालको अवस्था हेर्दा सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । “घटनाको अवस्था हेर्दा कुनै शङ्कास्पद अवस्था छैन”, उहाँले भन्नुभयो, “मृतकको शव परीक्षणमा लगिएकाले अरु मेडिकल रिपोर्ट आएपछि भन्न सकिन्छ ।”
गर्भजाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम
गर्भवतीको निःशुल्क गर्भ जाँच गर्नका लागि साकेला गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँचको सुविधा बिस्तार गर्नका लागि गाउँपालिका र वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको हो ।
वडा नं ३ खिदीमा स्वास्थ्यचौकीमा बुधबार स्थानीय गर्भवती महिलाको गर्भजाँच गर्दै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । खिदीमामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम उद्घाटन गर्नुभएको हो ।
सुरक्षित मातृत्वका लागि वनहर्ट वल्डवाइडले गर्भजाँच गर्ने उपकरण प्रदान गरेपछि तालिम प्राप्त एक अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । केही समयपछि वडा नं १ बाँझेच्यानडाँडास्थित स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ केन्द्र डाँडागाउँ, वडा नं २ रतन्छा स्वास्थ्यचौकी, वडा नं ४ मात्तिमस्थित आधारभूत स्वास्थ्य केन्द्र र वडा नं ५ मात्तिमबिर्तास्थित स्वास्थ्यचौकीमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताउनुभयो ।