
नयाँ दिल्ली, भारतीय नागरिकता संशोधन विधयेक विरुद्ध भइरहेको प्रदर्शनमा अहिलेसम्म उत्तरप्रदेशमा ८ वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको छ । त्यसबाहेक ८७९ मानिसलाई पक्राउ गरिएको छ र १३५ अपराधिक मुद्दा दर्ता गरिएको छ । प्रदर्शनमा २८८ प्रहरी पनि घाइते भएको उत्तर प्रदेशका डीजीपी ओपी सिंहले बताए ।
अधिकारीहरूले शनिबार मेरठ जिल्लामा ४ जनाको मृत्यु भएको बताएका थिए । कानपुर र बिजनौर मा २-२ जनाको मृत्यु भएको उनीहरूले जनाएका थिए ।
UP DGP, OP Singh: 879 people have been arrested and preventive action was taken against around 5,000 people across the state. 135 criminal cases have been registered so far and 288 police personnel have received injuries. 15 casualties have happened. #CitizenshipAmendmentAct https://t.co/aaEyDlqoyD
— ANI UP (@ANINewsUP) December 22, 2019
वाराणसीको भागदौडमा ८ वर्षीय एक बालकको मृत्यु भएको थियो । संभल र फिरोजाबादमा एक-एक जनाको मृत्यु भयो । ४ दिनको शान्तिपछि अलिगढ मुस्लिम विश्वविद्यालय परिसरमा शनिबार फेरि विरोध प्रदर्शन भयो । एएमयूका गैर शैक्षणिक कर्मचारीले पनि एएमयू शिक्षक संघसँग मिलेर प्रदर्शन गरे ।
प्रदर्शनको क्रममा आफूहरूले फायरिङ नगरेको र मृत्यु गोली लागेर नभएको उत्तर प्रदेश प्रहरीको दावी छ । तर बाहिर आएका केही भिडियो र तस्बिरमा प्रहरी फायरिङ गरिरहेका देखिन्छन् । एनडीटीवीका अनुसार कानपुरका केही भिडियोमा प्रहरी फायरिङ गरिरहेका देखिएका छन् ।
त्यस्तै उत्तर प्रदेशको इलाहाबादमा शनिबार रातिसम्मको लागि इन्टरनेट सेवा बन्द गरिएको थियो । उत्तरप्रदेशकै अन्य भागमा पनि समय-समयमा इन्टरनेट बन्द गरिएको छ । मानिसहरू सरकारको निन्दनीय कार्यको प्रशस्त विरोध गरिरहेका छन् ।
भारतका विभिन्न ठाउँमा नागरिकता संशोधन कानून, २०१९ को विरोधमा प्रदर्शन भइरहेको छ । यो कानूनमा अफगानस्थान, बंगलादेश र पाकिस्तानबाट भारत आएका हिन्दु, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्मका मानिसलाई नागरिकता दिने प्रावधान गरिएको छ । नागरिकता संशोधन कानूनमा भारतमा शरण लिन चाहने मुस्लिमलाई नागरिकताको दायराबाट बाहिर राखिएको छ ।
अन्य धर्म र मुस्लिमको बीचमा भएको विभेदका कारण उक्त विधयेकको आलोचना भएको हो । सरकारको उक्त कार्यलाई धर्मनिरपेक्षतामाथि प्रहार र यसलाई बद्ल्न सरकारले गरिरहेको झेलको रूपमा बुझिएको छ । अहिलेसम्म भारतमा कसैलाई पनि धर्मको आधारमा नागरिकताबाट बहिस्कार गरिएको थिएन ।
एजेन्सीको सहयोगमा