
करणीको आरोप लागेका धार्मिक गुरु ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ ।
एक महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् । प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो ।
प्रहरी स्रोतका अनुसार अडियो रेकर्ड सिद्धबाबाको हकमा ७७ प्रतिशत आवाज म्याच भएको छ । सामान्यतया ५० प्रतिशत आवाज म्याच हुँदा प्रमाण मान्न सकिन्छ । प्रहरीले आवाज मिलेको रिपोर्ट सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । कार्यालयले सो मुद्दाको मिसिल अध्ययन गरिरहेको प्रहरीले बताए ।
हिरासतको समय विराट नर्सिङहोममा कटाएका गिरीले आफूमाथि फसाउने षडयन्त्र भएको बताउँदै आफूले महिलालाई नचिनेको दाबी गरेका थिए । तर महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मिलेको रिपोर्ट आएको हो ।
अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए । सरकारी वकिलको कार्यालयले आजै मिसिल बुझाएर सिद्धबाबालाई अदालतमा हाजिर गराउने तयारी गरेको छ ।
जिल्ला अदालत सुनसरीले गिरीलाई पछिल्लो पटक ७ पुसमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । उनी १६ मंसिरमा पक्राउ परेका थिए । सिद्धबाबालाई पक्राउ गरेको आज २५ दिन पुग्दैछ ।