
लिगको दोस्रो स्थानमा रहेको लेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ।
शनिबार राति भएको खेलमा लेष्टरले घरेलु टोली वेष्टहामलाई २–१ गोलअन्तरले पराजित गरेको हो। लेष्टरको जितमा केलेची हेनाचो र डेमेराई ग्रेयले गोल गरे। यता, वेष्टहामका लागि पाब्लो फर्नाल्सले गोल गरे।
खेलको ४०औं मिनेटमा हेनाचोले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए। तर खेलको ४५औं मिनेटमा फर्नाल्सले गोल गर्दै वेष्टहामलाई पहिलो हाफसम्म १–१ गोलको बराबरी दिलाए। खेलको ५६औं मिनेटमा डेमेराईले गोल गर्दै लेष्टर सिटीलाई २–१ गोलको अग्रता दिलाए। बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल लेष्टरले २–१ गोलले जितेको हो।
दोस्रो स्थानमा रहेको लेष्टरले जितपछि २० खेलबाट ४२ अंक बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको भने १८ खेलबाट ५२ अंक छ।