
उत्तर कोरियाका नेता किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन्। त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ रणनीतिक अस्त्रको विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्।
किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए। किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्ने कुरा आफ्नो विश्वास रहेको बताएका छन्।
परीक्षण
सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन। गत एप्रिल महिनामा किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए।
प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीटमार्फत् किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए। गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठक विफल भएको थियो।
उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक नाकाबन्दीहरू हटाउन अमेरिका तयार नभएपछि भियतनामको हनोईमा भएको वार्ता विनासहमति टुङ्गिएको थियो।
निरस्त्रीकरण
दुई नेताबीच पहिलो पटक सन् २०१८ मा सिङ्गापुरमा शिखर वार्ता भएको थियो। सिङ्गापुरमा भएको ऐतिहासिक भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए।
त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट अब पारमाणविक खतरा नरहेको टिप्पणी गरेका थिए। तर प्योङ्याङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धताविना सहमति गरेकोमा ट्रम्पको आलोचना भएको थियो।
आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर प्योङ्याङले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध खेप्दै आएको छ। बीबीसी