
नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न मिल्ने पैसाको सीमा बढाएको छ। कृषि विकास बैंकका सिस्टम ह्याकु गरी ठूलो रकम बाहिरिएपछि राष्ट्र बैंकले सीमा घटाएको थियो।
राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणलीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दे सीमा बढाएको हो। नयाँ निर्देशनअनुसार एक दिनमा एटिएमबाट एक लाख रुपैयाँसम्म निकाल्न पाइने छ।
एटिएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो। यसैगरी, विद्युतीय माध्यमबाट वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ। यसअघि यस्तो सीमा १ लाखसम्म थियो।
यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा राखिने सुरक्षा गार्ड हटाउन निर्देशन पनि दिएको छ। अब सिसिटिभीमार्फत नै एटीएमको गतिविधि निगरानी गरिने जनाइएको छ। राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यामबाट गरिने भुक्तानीको अधिकतम सीमा पनि तोकेको छ।
मोबाइल बैंकिङमार्फत प्रतिदिन ५० हजार र प्रतिमहिना २ लाखसम्मको कारोबार गर्ने सकिनेछ। इन्टरनेट बैंकिङमार्फत प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाखसम्म भुक्तानी गर्न सकिनेछ भने प्रतिदिन १० लाख र प्रति महिना ५० लाखसम्म रकम पठाउन सकिने जनाइएको छ।