
प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपिएफले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लगातार तीन खेल जितेको त्रिभुवन आर्मी क्लब पनि यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले जितका लागि कर्णाली समक्ष २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कर्णालीले भने ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनायो । कर्णालीका लागि हेमन्त ओलीले ५८, हिमांशु शाहीले २०, कप्तान रवीन्द्र शाहीले १४, अभिषेक ठकुरीले १२ तथा राज शाहले १२ रन बनाउनुभयो ।

बलिङतर्फ एपिएफका लागि वसन्त रेग्मी र किशोर महतोले तीन-तीन, भुवन कार्कीले दुई तथा कप्तान शरद भेषवाकरले एक विकेट लिनुभयो । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाउनुभयो ।
यस्तै अमरसिंह राउटेलाले ३१, सुवास खकुरेलले २३, शङ्कर रानाले १५, भुवन कार्कीले १५, वसन्त रेग्मीले १४ तथा सुमी महर्जनले १० रनको योगदान दिनुभयो । बलिङतर्फ कर्णालीका रवीन्द्र शाही र अनुज चुनाराले तीन-तीन तथा दिवान पुन र राज शाहले दुई-दुई विकेट लिनुभयो ।
खेलको बिचमा नवनियुक्त प्रशिक्षक ड्याभ व्हाट्मोरले कमेन्ट्री गर्नुभएको थियो ।