६ बैशाख २०८२, शनिबार

प्रदेशको क्षेत्राधिकारमा प्रवेश, हात हाल्दा विचार पुर्‍याउन संघीय सरकारलाई मुख्यमन्त्री राउतको चेतावनी

lalababu raut EIqY3IE8Xt

प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारको क्षेत्रभित्र संघीय सरकारले हात हाल्दा विचार पुर्‍याउन चेतावनी दिएका छन्।

तराई यातायात व्यवसायी संघको १४औँ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री राउतले संघीय सरकारलाई सचेत भएर काम गर्न सुझाव दिएका हुन्। छिमेकी मुलुक भारतमा सागरनाथको विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई उदाहरण दिँदै मुख्यमन्त्री राउतले भने ‘सागरनाथको विषयलाई हेरर नेपालको संघीय सरकार सचेत हुनुपर्छ

प्रदेश सरकारको क्षेत्राधिकारभित्र हात हाल्दा सर्वोच्च अदालतले जुन किसिमको निर्णय गरेको छ र यहि कारणले पनि प्रदेशभित्रको जंगल, प्राकृतिक श्रोतसाधन प्रदेशको क्षेत्राधिकारभित्र पर्दछ’ मुख्यमन्त्री राउतले थपे ‘संविधानमा व्यवस्था भएअनुसार प्रदेश सरकारले अब आफ्नो ढंगले भौतिक पूर्वाधार निमार्ण गर्न सक्छ, यसमा संघीय सरकारले हस्तक्षेप गर्न सक्दैन्।’

संघीय सरकारको कार्यशैलीको चर्को आलोचना गरेका मुख्यमन्त्री राउतले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुनपर्ने संवैधानिक प्रावधानविपरीत संघीय सरकारले प्रदेशलाई करकापमा राखेको आरोप लगाए। ‘हामीले गर्न खोजको काममा संघभन्दा प्रदेश सरकार अलि अगाडि लाग्यो भन्‍ने आरोप केन्द्र सरकारको छ’ उनले भने ‘केन्द्रीय सरकारको कार्यक्षेत्र के हुने स्थानीय र प्रदेश सरकारको भूमिका र कार्यक्षेत्र के हुने भन्ने विषयमा अहिले पनि स्पष्ट हुन सकिएको छैन।’

कार्यक्रममा यातायात व्यवसायीले पथलैया-वीरगञ्ज औद्योगिक करिडोरमा सवारी पार्किङ ठूलो समस्या भएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।

मुख्यमन्त्री राउतले ट्रक पार्किङको समस्या समाधानमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रदेश-२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार व्यवसायी दुःखसुखमा काम गर्न तयार रहेको बताए। ‘केन्द्रीय सरकारको क्षेत्राधिकार क्लियर नभएको कारण व्यवसायी अन्योलमा परेका छन्’ हिन्दी भाषामा मन्तव्य दिएका मन्त्री सोनलले भने, ‘संघीय सरकारको मन्त्रिपरिषद्ले एक प्रकारको निर्णय गर्छ।

संविधानमा अर्कै प्रकारको प्रावाधान रहेको छ, यसले उपभोक्तामा समस्या निम्त्याउँछ।’ प्रदेश सरकारले यातायात व्यवसायसम्बन्धी तयार गरेको मस्यौदा कार्यान्वयनमा ल्याउनुपूर्व व्यवसायीको सुझाव लिइने मन्त्री सोनलले बताए। ११ सय २२ सेयर सदस्य, १७ सय मतदाता र २२ सय गाडी संख्या रहेको ट्रक यातायात व्यवसायीको छाता संगठन तराई यातायात व्यवसायी संघको ५औँ अधिवेशनबाट आज नयाँ कार्यसमितिसमेत चयन हुनुपर्नेमा सदस्यको बहुमत नपुगेर स्थिगित भएको छ।