
नुवाकोटमा नेकपा ओली समूह र पुष्प कमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहबीच झडप भएको छ । झडपमा प्रचण्ड –नेपाल समूहका ५ जना कार्यकर्ता सामान्य घाइते भएका छन् ।
ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल लगायतका नेता नुवाकोट पुगेका थिए ।

झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ । पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री भट्टको स्वकीय सचिव मिनबहादुर सिंह चढेर आएको एक संस्थानको गाडीको पछाडि भागमा भने पूर्ण क्षति पुगेको हो ।
झडपमा प्रचण्ड नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिए ।
कालोझण्डा देखाउने र देखाउन नदिनेबीच झडप हुँदा उप्रधानमन्त्री पोखरेल केहिबेर सडकमै रोकिनु परेको थियो । भीड पन्छाएर मन्त्रीहरु चढेको गाडी पास गराउन प्रहरीलाई केहीबेर त हम्मेहम्मे नै परेको थियो ।
आन्दोलनकारीले सडकमा टायर बालेर केपी ओली मुर्दाबादका नारा लगाएका थिए ।