
संवैधानिक निकायका पदाधिकारीहरुको शपथको विरोधमा आज प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालको बिहानै प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको छ । अज्ञात दुई युवाले ट्याक्सीमा गरेको आगजनीबाट ट्याक्सी पूर्णरुपमा ध्वस्त बनेको छ । ट्याक्सीलाई गोङबुमा आगजनी गरिएको हो ।
आमड्तालको घोषणा पश्चात गृह मन्त्रालयले हिजोनै एक सुचना मार्फत शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको थियो ।

शान्ती सुरक्षा कायम गर्न उपत्यकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ भने विभिन्न ठाउँहरुबाट बन्द गराउँदै हिँडेका कार्यकर्ताहरु पक्राउ परेका छन ।
प्रहरीले बन्द गराउदै हिड्ने ६० भन्दा बढिलाई पक्राउ गरेको खबर छ । त्यस्तै प्रहरीले कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्य लगायतका नेतालाई पक्राउ गरेको छ।