
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन्।
अमेरिकी सहयोग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे संसदमै छलफल गरेर टुंगो लगाउने बताए। बिहीबार पोखरामा नेपाल पत्रकार संगठन कास्कीद्वारा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन्। ‘राष्ट्र हित विपरीत सम्झौता हामी गर्दैनौं’ उनले भने, ‘हामी कुनै अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुँदैनौं।’
कालापानी सीमा विवाद सुल्झाउन भारतबाट वार्ताको मिति पर्खिरहेको बताए। ‘सरकारले औपचारिक रुपमा कूटनीतिक नोट पठाइसकेको छ’, उनले भने, ‘वार्ताका लागि भारतबाट मिति टुंगो लागेको छैन्’ उनले भने, ‘दुई देशको सहमति नभइकन त्यो सीमाको टुंगो लाग्दैन।’ सीमा विवाद सुल्झाउन २ खाले तागत रहेको बताए। तथ्य र प्रमाण एवं नेपालका राजनीतिक दलहरुको एकमत सीमा विवाद सुल्झाउने तागत रहेको उनले बताए।
‘हामीलाई कसैको एक इन्च जमिन पनि चाहिएको छैन, र हाम्रो पनि एक इन्च जमिन कसैलाई दिन्नौं’ पोखरेलले भने ‘सुगौली सन्धि गर्दा जति सीमा थियो, त्यसमा हामी केन्द्रित हुन्छौं। त्यसैमा ध्यान दिन्छौं।’ उनले नेपाल ट्रस्ट मातहतको सम्पति कानुनअनुसार प्रयोग गर्ने बताए।