
विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती पुस २७ गते आइतबार भव्यताका साथ मनाइँदैछ ।
सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने छन् । समारोहमा त्यहाँ अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि ।सं । १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
विगतमा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।
नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।