
यस वर्ष माघे सन्क्रान्तीमा नुवाकोटको तारुकामा दिन २१ हल गोरु जुधाइने भएको छ। तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।
माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे। मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने भएको छ।
२०६२ सालदेखि विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई एकै थलामा जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ ।
नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ।