
भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो । केही दिनयता उल्लेखनीय मौसम प्रणाली नरहेको नेपालमा आज (सोमबार) पुनः पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने मौसमविद्ले बताएका छन्।
पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सुदूरपश्चिम क्षेत्रको आकाशमा पश्चिमी न्यून चापीय प्रणालीको बादल आउने क्रममा छ।
‘आज (सोमबार) रातिसम्ममा यो प्रणाली सुदूरपश्चिम आइपुग्ने देखिन्छ, ‘यसले पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’
साथै पश्चिम पहाड तथा तराईका केही स्थानमा हल्का वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भित्रिने प्रणाली कमजोर किसिमको भएकाले यसको प्रभाव पश्चिमी क्षेत्रमा मात्र सीमित हुने र देशका अन्य स्थानमा खासै असर नपार्ने अनुमान छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने भएकाले हुस्सु/कुहिरो लागेका स्थानमा राम्रो सँग घाम नलाग्ने भएकाले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपाय अपनाउन हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ।
साेमबार प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणाली मंगलबार रातिदेखि नै कमजोर हुने महाशाखाले जनाएको छ।‘बरु शुक्रबार पुनः अलि बलियो खालको पश्चिमी न्यून चापीय प्रणाली भित्रिने देखिन्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘त्यसले चाहिँ देशैभर प्रभाव पार्ने देखिन्छ।’