
म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गला घाटबाट हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन ।
सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरवाही र ढिला सुस्तीले अलपत्र परेको हो । बेनी नगरपालिका–७ मङ्गला घाटबाट वडा नं २ को हाडेभिर हुँदै बगरफाँट जोड्ने सडक कालोपत्रमा भएको ढिलासुस्तीले नागरिकलाई सास्ती भएको मङ्गलाघाटका सुवासकुमार श्रेष्ठले बताउनुभयो ।
“सडकको धुलोले हरेक पटक बेनी बजार गएर फर्किएपछि नुहाउनु र कपडा धुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ ।” सडक विस्तार र कालोपत्र गर्न बेनी नगरपालिकाको कार्यालय अगाडिबाट मङ्गला घाट जाने सडकमा यसअघि गरिएको कालोपत्र उप्काइएको थियो ।
नयाँ कालोपत्र गर्न ढिलाइ गर्दा म्याग्दीको पश्चिमी भेगको नाकामा पर्ने मङ्गला घाटको सडकको धुलो र हिलोले स्थानीयवासी प्रभावित भएका छन् । हाडेभिर–बगरफाँट भकिम्ली, सिङ्गा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । हाल शहरी विकास मन्त्रालयको सघन शहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको यो योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित विसं २०७५ माघ २२ गते सम्झौता गरेका ठेकेदारले हालसम्म रु दुई करोड मात्र भुक्तानी लगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर प्रभाकर कर्णले बताउनुभयो । विसं २०७७ माघ २२ गतेसम्म म्याद रहेको आयोजनाका ठेकेदारले विगत एक वर्षदेखि काम गरेका छैनन् ।
एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा मङ्गला घाटको तल्लो बजार क्षेत्रमा करिब २०० मिटर सडक ढलान भने २०७५ साउनमै गरिएको निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले बताउनुभयो । “लकडाउनले रोकिएको कालोपत्र गर्ने कामलाई चैत महिनाभित्र सक्न प्लान्ट स्थापना गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “यसअघि गरिएको कामको समेत भुक्तानी पाएको छैन ।
यसपालि पनि रु ८० लाखमात्र बजेट विनियोजन भएको छ ।” यो सडकमा गर्ने भनिएको अक्सपाल्ट प्रविधिको कालोपत्रका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा सेटिङ हुँदैन । “नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम सकिएको छ”, सिभिजनल इञ्जिनीयर कर्णले भन्नुभयो, “बेस र सव बेससमेत राखिसकेका छन् । छ महिना म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ ।”
ठेक्काअनुसार गर्नुपर्ने कामको परिणाम पुर्याउन भेरिएसन अर्डर (भिओ) भइरहेको छ । सघन शहरी कार्यालय, प्रशासन, नगरपालिका र ठेकेदारबीच गत महिना भएको छलफलमा माघ महिना भित्र अक्सपाल्टको प्लान्ट स्थापना गर्ने सहमति भए पनि अहिले सम्म कार्यान्वयन नगरेका बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।