
फाइल फोटो
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गर्नुभएको छ ।
राजदूत साइगो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नुभएको हो । भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुङ्गा सुरुङ लगायतका विभिन्न कार्यक्रम मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेल्नु भएको भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
आगामी दिनमा यी दुई घनिष्ट मित्र देश बीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । त्यस्तै राजदूत साइगोले आफ्नो कार्य अवधिभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभएको थियो ।