
पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएपछि यो तथ्य सार्वजनिक भएको हो । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशंका गर्दै सशंकित भएका छन् ।
चितवनको गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशंकित बनेका छन् । लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको उनले बताए । उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफ्रिएपछि शंका लागेको बताए ।
आज बिहान यस्तो समस्या देखेपछि उनले तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघलाई खबर गरेका थिए । खबरपश्चात पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए । शंकास्पद भेटिएपछि उक्त ब्राण्डको चामल कुश्माबजारमा बिक्रीका लागि रोकसमेत लगाइएको छ । २५ किलोग्राम तौलको बोरामा यस्तो समस्या देखिएको हो ।~ रासस